नेपालमा युरेनियम : उत्खनन गरे देशको कायापलट

Final_Uranium Resource Map

बिशेष खोज तथा अनुसन्धानात्मक लेख
Gopal Bhandari
गोपाल भण्डारी
पृष्ठभूमि

भनिन्छ “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड” । नेपाल तुलनात्मक रूपमा सानो मुलुक भए पनि प्राकृतिक सम्पदा र यसको विविधताका कारण धनी मुलुक हो । पर्यटन र जलस्रोत विकासका दृष्टिकोणले अपार सम्भावना छ । तर यी सम्भावनालाई यथार्थतामा बदल्न निकै प्रयत्न गर्नुपर्ने खाँचो छ । यस बाहेक पनि खानीजन्य उत्पादनलाई पनि नकार्न सकिने अवस्था छैन । मुस्ताङको लोमन्थाङ पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो । सन् १९९० कै परीक्षण अनुसार मकवानपुर धियालको तीनभंगाले–कालोपानी खोला क्षेत्रमा करीब ५ सय १२ मिटरको लम्बाइ र १५ मिटर मोटाइमा युरेनियम भण्डार रहेको अन्वेषण गरिएको छ । तीनभंगालेको युरेनियम भण्डार रहेको कालोपानी खोला छेउको भाग खुला छ, अन्यत्र भने माटोले छोपिएको छ । कस्तुरीले आफ्नो नाभीमा भएको बास्ना खोज्दै अन्यत्र दौडन्छ भने जस्तै हाम्रो नेपाल सरकारलाई यस्तो बहुमुल्य धातु कालीगण्डकीमा सालीग्रामको महत्व नभए जस्तै भई राखेको छ । यसले माल पाएर पनि चाल नपाएको जस्तो अनुभूति गर्ने हामी नेपालीको प्रवृत्तिलाई कौडीमै पनि मिल्कन्छ भिल्लका देशमा मणि भन्ने भनाईको स्मरण पनि गरायो । बिश्वका ठुला उदाउदा हाम्रा छिमेकी देशहरु चीन र भारतले आणविक भट्टीको बिकास गर्नुका साथै अन्तरिक्षमा रकेट पठाइसके । औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।

???????????????????????????????
चित्र : माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र

युरेनियम र यसको महत्व

युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ परमाणविक भार भएको रेडियोधर्मी धातु होे । यो तत्वको खोज जर्मन रसायनविद् मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए । लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । खानीबाट निकालिएको युरेनियम ओरलाई प्रशोधन गरी एल्लो केक बनाइन्छ । एल्लो केक वा युरेनिया भनेको युरेनियम ओरलाई प्रशोधन गरी बनाईएको मिश्रीत युरेनियम अक्साइड्को रुप हो । यो पानीमा नघुल्ने पिरो गन्धको धुलो हो । यो २८८० डिग्रीमा पग्लन्छ र यसमा ८० % युरेनियम अक्साइड हुन्छ । एल्लो केकलाई विदेश निर्यात गर्न सकिन्छ ।

Uranium Ore
चित्र : प्रशोधन नगरिएको युरेनियम

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । प्रायः युरेनियम खानी भएका सबै देशमा एल्लो केक बनाइन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ । बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेनमा ३०% वा यो भन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ । काजकास्तान, क्यानडा, अष्टेलिया, नामिविया, रसिया लगायतमा मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ । यो धातुको विश्व बजारमा पनि उच्च माग छ , तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ ।

Process of making Yellow Cake
चित्र : युरेनियम ओरलाई प्रशोधन गरी “एल्लो केक” बनाउदै

नेपालमा युरेनियम पाईने ठाउँहरु

नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्र, मकवानपुर धियालको तीनभंगाले, मकवानपुरको चिरुवा खोला र चाँदे खोला , काठमाडौंको जगते,बझाङको सेनगढ,निम्लीगढ,देभलेक,लाङटाङ हिमालमा पनि युरेनियमको प्रशस्त सम्भावना रहेको विभिन्न अनुसन्धानहरूबाट देखिन्छ । त्यसबाहेक राजधानीको उत्तरपश्चिम क्षेत्रमा अवस्थित ककनीको पाँचमाने क्षेत्र, मैलुङ खोला, शिवपुरीको टोखा, रसुवाको केही भाग, चरीकोट नजिकको केही भागमा उच्च रेडियोधर्मी विकिरण पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ । खानी विभागको अन्वेषण अनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, अछामको बुरीगगां,चितवनको मरदार खोला तथा पाँपा खोला, बैतडीको बागेगढ(पूर्व), बागेगढ(पश्चिम), सानीगढ,जमरी,गोरङ्ग(पूर्व),गोरङ्ग(पश्चिम),बङ्गाबगर बगोट आसपासमा युरेनियमको सम्भावना छ । सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अरु ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, दाचुर्लाको लुम्थी, बन्कु,पौटली,चौपाटा, उकुगढ, बझाङ,बाजुराको कोदारी गढ र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो । हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वितर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।

Final_Uranium Resource Map
चित्र : नेपालमा युरेनियम पाईने ठाउँहरु

सन् १९९१ मा बैतडी दार्चुलाको चमेलिया खोलाबाट सुन तस्करी भइरहेको अपुष्ट खबर फैलिए पनि त्यो जाँच गर्न गएको खानी विभागको टोलीले त्यहाँ युरेनियमको सम्भावना रहेको पत्ता लगाएको थियो । लगत्तै खानी विभागले सुदूरपश्चिम क्षेत्रमा दुई वर्ष काम गरी विस्तृत रिपोर्ट नै बनाएको थियो । विभागको टोलीले बझाङको निम्ली गाड र बैतडीको जमारी गाडमा क्रमशः ३ हजार ८ सय ८९ र ९ हजार २ सय १३ सीपीएस युरेनियम विकिरण भएको तथ्य पत्ता लगाएको थियो । यो आफैँमा निकै ठूलो परिमाणको विकिरण हो किनभने पाकिस्तानको प्रतिलाख कणमा ३ हजार ५ सय रेडियोधर्मी भएको ठाउँबाट युरेनियम उत्खनन कार्य भइरहेको छ भने भारतमा पनि ४ हजार २ सय कण प्रतिलाखमा युरेनियम भएको ठाउँमा २० वर्षदेखि उत्खनन जारी छ ।

नेपालमा खानी क्षेत्रको विकास

भनिन्छ बिकास नै जीवन हो । बिकासले परिपक्वता र अनुभवको परिणाम स्वरुप आउने प्रगातिशील क्रमिक परिवर्तनलाई बुझाउछ । खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज, व्यवस्थापन तथा यस सम्बन्धि नियम र कानूनको विकास, भू–वैज्ञानिक अन्वेषण र अध्ययन सम्वन्धी सम्पूर्ण कार्यको जिम्मेदारी लिएको संस्था हो । अन्य देशको तुलनामा खानी तथा भूगर्भ विभागको इतिहास निकै छोटो ६०÷६५ वर्ष मात्र भएको छ । हाम्रो छिमेकी देश भारतमा भौगर्भिक अध्ययन, अनुसन्धानको १ सय ५० वर्षभन्दा बढी भइसकेको छ । संयुक्त राज्य अमेरिकामा ३ सय वर्षभन्दा बढी भएको पाइन्छ । ती मुलुकमा अहिले पनि भौगर्भिक अध्ययन, अनुसन्धान जारी राखी नयाँनयाँ कुरा पत्ता लागिरहेका छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । खानी विभागले अलि व्यवस्थित रूपमा अध्ययन अनुसन्धान शुरू भएको ३०÷३५ वर्ष मात्र पुगेको छ । विभागले अध्ययन, अनुसन्धान गरी जेजति उपलब्धि प्राप्त गरेको छ, त्यो भौतिक पूर्वाधारको कमी र विभिन्न निकायका ऐननियम बाझेका कारण राष्ट्रले त्यसको पनि पूर्ण सदुपयोग गर्न सकेको छैन । भौगर्भिक अध्ययन अनुसन्धान गर्न सम्बन्धित भूगोलमा पुग्नैपर्छ । अहिलेसम्मको भौगर्भिक अध्ययन, अनुसन्धानले के देखाउँछ भने खनिज पदार्थका हिसाबले प्रत्येक भूभागको आआफ्नै महत्व छ । प्रत्येक भूभागमा महत्वपूर्ण खनिज पदार्थ भेटिएका छन् र भविष्यमा पनि भेटिने सम्भावना छ । खाँचो छ, नयाँ प्रविधि, नयाँ सोच, भौतिक पूर्वाधार र धैर्यको माध्यमबाट पत्ता लागेका खनिज पदार्थको सदुपयोग गर्नुका साथै नयाँनयाँ भण्डार पनि पत्ता लगाउन सकिन्छ ।
जलसम्पदाकै हाराहारीमा देशमा खनिज पदार्थको प्रचुर सम्भावना रहे पनि हालसम्म १२ प्रकारका खनिज पदार्थमात्र उत्खनन भइरहेको पाइएको छ । देशका विभिन्न ९५ स्थानबाट हाल चुनढुङ्गा, कोइला, फलाम, काइनाइट, म्याग्नेसाइट, मार्बल, क्वार्ज, क्वार्जाइट, रेड क्ले, खरी, टुमालिन र जिङ्क उत्खनन भइरहेको छ । विभागमा ८४ वटा खानीजन्य उद्योग दर्ता भए पनि दुई दर्जनमात्र सञ्चालित छन् । दाङ, रोल्पा, सल्यान, प्युठान र पाल्पामा कोइला तथा पर्वतमा फलाम खानी सञ्चालित छन् भने राष्ट्रका अन्य भागमा उपलब्ध तामा, सिसा, अभ्रक, गन्धक, स्लेट, गेरु र ग्रेफाइट उत्खनन हुन सकेको छैन । गरगहनामा प्रयोग हुने बहुमूल्य धातु टुर्मालाइन जाजरकोटमा पाइए पनि उत्खनन गर्न बाँकी नै छ । खानी तथा खनिजजन्य उद्योगहरूको प्रशासनिक, प्राविधिक, आर्थिकलगायत अनुगमनसहित सबै अधिकार प्राप्त खनिज मन्त्रालय नै स्थापना गर्नुपर्ने हुन्छ । खानी तथा खनिज अन्वेषणसम्बन्धी नीति तथा कार्यक्रम, यस क्षेत्रको विकाससम्बन्धी अध्ययन, तालिम, अन्वेषण, सर्वेक्षण तथा प्रविधि विकास एवम् हस्तान्तरणको जिम्मेवारी खानी तथा भूगर्भ विभागको भए पनि बेग्लै ऐन बनाउन नसकिएको स्वीकार गर्नुहुन्छ । राजनीतिक सङ्क्रमणका कारण आवश्यक ऐन नियम बनाउन नसकिएको उल्लेख गर्दै खानी तथा खनिजजन्य उद्योगको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिनुहुन्छ । खानी, पानी, पर्यटन र मानव संशाधनको समूचित विकास एवम् दोहनबाट राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाउने सङ्कल्प राजनीतिक नेतृत्वले नगरेसम्म आर्थिक क्रान्ति कोरा कल्पनामात्र हुन्छ ।

युरेनियमका गुणहरु र दोषहरु

दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो । सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए । एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुन सक्ने पदार्थ युरेनियम ९ग्चबलष्गm० र प्युलोटोनियम ९एगितयलष्गm० बाट बनाईन्छ । एटम बम विस्फोटन हुँदा एकैछिनमा एक्कासी लाखौँ डिग्री सेल्सियस तापक्रम बढ्न पुग्छ । यसमा बमको सबै भाग ग्याँसमा बदलि चाप वायुमण्डलको भन्दा लाखौँ गुणा बढी हुन्छ र वरपरको हावालाई चाप्दै यो तिव्र गतिमा फैलिन थाल्दछ । बिस्फोटन भएको समयमा आगोको ज्वाला निस्केको हुन्छ र त्यहि समयमा आगोको विशाल भकुण्डो अति तातो हावासंग सँगै निस्कन्छ । यसबाट शक्तिशाली विकिरणहरू उत्पन्न भई परमाणिक प्रतिक्रिया भएको ठाउँबाट पनि त्यतिकै शक्तिशाली न्यूटोन ९ल्भगतचयल० र गामा विकिरण ९न्बmmब च्बमष्बतष्यल० हरू निस्कन्छन् । विस्फोटन भएपछि तातो ग्याँस र विकिरणहरूबाट रंगित मुस्लो बन्छ । २–३ मिनेट भित्रै यो केहि किलोमिटर माथि उठ्छ र च्याउको छाता जस्तो देखिन्छ । विस्फोटनबाट विकिरणहरू वनस्पति र जन्तुहरूको शररि भित्र पस्नाले ठूलो धनजनको क्षति हुन जान्छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकी वैज्ञानिक ओपनहाइमरले परमाणु वम बनाएर प्रयोगात्मक रूपमै पृुष्टि गरिदिए । उनले नाभिकीय विखण्डन प्रतिक्रियाबाट पदार्थको केही अत्यन्तै सानो अंशलाई मात्र भएपनि शक्तिमा बदलेर देखाइदिए । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ शक्तिमा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र शक्तिमा बदलिएको हुन्छ । पदार्थ पूर्ण रूपमा शक्तिमा बदल्ने प्रविधिको विकास भने अहिलेसम्म विश्वमा भइसकेको छैन ।

युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ । एक किलो ग्राम युरेनियम २५३ ले झण्डै २० हजार मेगावाट प्रति घण्टा बराबरको ताप उत्पन्न गराउन सक्छ जुन ३० लाख टनको दाउरा बालदा निस्कने ताप बराबर हुन आउँछ । एटम वममा १ ग्राम पदार्थ विलाउँदा २१ अरब किलो क्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति तापशकित उत्पन्न हुन्छ त्यति बराबरको ताप शक्ति १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने पदार्थलाई शक्तिमा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने शक्ति उत्पन्न हुन्छ । युरेनियमबाट उत्पन्न रेडियोधर्मी विकिरणको आविष्कार गर्ने पोल्यान्डकी वैज्ञानिक मेडम क्युरीले सन् १९०३ र सन् १९११ मा दुइटा नोबेल पुरस्कार पाइन् । क्युरीको उक्त आविष्कार आधुनिक विज्ञान क्षेत्रका लागि वरदान नै साबित भयो । कस्तो विडम्बना १ त्यही विकिरणका कारण क्युरीको सन् १९३४ मा मृत्यु भयो । आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ । दुर्भाग्य, खानी विभागले पत्ता लगाएको मकवानपुरको तीनभंगाले क्षेत्रको युरेनियमबारे कुनै जानकारी समेत नपाई त्यहाँ बसोवास गर्नेहरू प्रभावित भइरहेका छन् । युरेनियम यस्तो धातु हो, जसले एक पुस्तामा कुनै असर नदेखिए पनि दुई वा तीन पुस्तापछि पनि भयावह असर देखाउन सक्छ । पूरै वंशाणुगत गुण नै ध्वस्त पारिदिन सक्छ । भावी सन्तती पूरै अपांग बनाइदिन सक्छ । आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ युरेनियम विद्युत उत्पादनको शक्तिशाली स्रोत युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।

नेपालमा रेडियोधर्मी पदार्थबारे कानुन

भनिन्छ कानुनको उदेश्य औचित्य स्थापित गर्नु,न्यायको रक्षा गर्नु र अनुचित कार्यबाट छुटकारा दिलाउनु हो । देशभित्रका युरेनियम अन्वेषण गरी प्रशोधन गर्दा आणविक विकासमा पाइलो सार्न सहयोग पुग्छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली २०५६ मा, सरकारले युरेनियम, सुन र हीरालाई जंगी खानीका रूपमा परिभाषित गर्दै त्यसको अन्वेषण, उत्खननको एक मात्र अधिकार खानी विभागलाई दिएको छ । उत्खननका लागि पहिले संसद्बाट न्युक्लियर ऐन ल्याउन आवश्यक छ । नेपालमा रसायन विश्लेषण तथा परीक्षण गर्ने प्रयोगशाला छैन, उत्खनन गर्नैपरे बाहिरी देशको कम्पनीलाई दिनुपर्ने हुन्छ । दोस्रो वा तेस्रो पक्षलाई काम दिनचाहिँ छिमेकी मुलुकको रणनीतिक स्वार्थका कारण सम्भव देखिँदैन । नेपालले सन् २००८ को जुलाईमा एजेन्सीको सदस्यता लिएपछि मात्र कानून बनाउनुपर्ने खाँचो महशुस गरिएको हो । रेडियोधर्मी पदार्थको प्रयोग र ओसारपसार तीव्र बनिरहेका बेला नेपालमा भने अहिलेसम्म यसको कानुन बनेको छैन । वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने न्युक्लियर पदार्थको नियमन गर्ने कानुन नहुँदा दुरुपयोग हुने ठूलो सम्भावना बढेर गएको छ । चितवनको भरतपुस्थित बीपी कोइराला ममोरियल क्यान्सर अस्पतालले उपयोगपछि फिर्ता पठाएको रेडियोधर्मी पदार्थ राजधानी ल्याउँदै गर्दा बाटैबाट हराएको थियो । नेपालमा अहिलेसम्म आणविक ऐन नबनेकाले उत्खनन सरकार आफैंले गर्ने कि निजी क्षेत्रलाई दिने वा विदेशी सहयोग लिने भन्ने निर्णय गर्नुपर्दछ । युरेनियम अध्ययन र उत्खननका लागि सरकारले छिट्टै सेफ्टी मेजरमेन्ट र आणविक ऐन ल्याउनुपर्छ । यूरोप अमेरिकामा लागू भइरहेको मापदण्ड नेपालमा लागु नहुने भएकोले हामीले कानून बनाउदा नेपाल सुहाउँदो पनि बनाउनुपर्छ ।

केहि बर्ष अघि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले रेडियोधर्मी पदार्थको ऐन कानुन बनाउन आणविक ऐन मस्यौदा कानुन आयोग पठाएको थियो । नेपालमा यस विषयका विज्ञविशेषज्ञ नहुँदा र सरकारी निकाय बीचको अन्योलता र ढिलासुस्तीले ऐन कानुन बनाउने प्रक्रिया रोकिएको थियो । रेडियोधर्मी कानून बनाउन गत वर्ष आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल समेत गठन भएको थियो । कार्यदलमा सरोकारवाला मन्त्रालय र आयोगका पदाधिकारी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का बैज्ञानिक र त्रिभुवन विश्वविद्यालय भौतिक विज्ञान संकायका प्राध्यापक संलग्न विज्ञ छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले मन्त्रालयलाई प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिएपनि आयोगले थप प्रक्रिया अघि बढाएको हो । अहिले यस सम्बन्धी रुपरेखा तयार पारी कानुन आयोगले गत असोज महिनामा पुनः विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा पठाएको छ ।

सम्भावना मात्र कि उत्खनन योग्य पनि ?

प्रायः हरेक बस्तुमा सम्भावना रहेको त हुन्छ तर त्यस बस्तुले मानवीय आवश्यकताको पुरती गर्न सक्ने उपयोगिता बढी महत्वपूर्ण हुन जान्छ । विश्वभर नै आणविक शक्तिलाई सैनिक प्रयोजनको निमित्त मानवविरुद्धमा दुरुप्रयोग गर्नुभन्दा विधुतीय उर्जामा परिणत गर्नुपर्ने जनमत रहेको देखिन्छ । धेरै अध्ययन गर्न बाँकी भए पनि प्रारम्भिक चरणको अध्ययनले औद्योगिक सम्भावना देखिएको छ । युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि कमर्सियल भाइब्रेन्टु कस्तो भनेर थाहा हुन्छ । ठूलो क्षेत्र र राम्रो सम्भावना रहेकाले सरकारले यसलाई विशेष कार्यक्रम ल्याएर पनि अध्ययन र उत्खनन गर्नुपर्ने आवश्यकता छ । उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित उपयोग विना कुनै पनि देशको आर्थिक विकास सम्भव हुँदैन । जनताको जीवनस्तरमा सुधार गर्दै अत्याधिक उपलब्धितर्फ उन्मुख नभएसम्म समृद्धि हासिल हुन सक्दैन । विशेष प्रविधि, विज्ञ र धेरै लगानी आवश्यक हुने भएकाले सरकारले विशेष कार्यक्रम बनाउनुपर्दछ । इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) अनुसार सन् १९८६ तिर नै २६ वटा देशहरुले २७४ आणविक रेक्टरहरुबाट २५० मिलियन किलोवाट विधुत उत्पादन गरिसकेका थिए । यतिखेर विश्वका ३५ देशहरुमा आणविक भट्टीहरु रहेका छन् जसबाट विधुतीय उर्जा उत्पादन गरिरहेका छन् । छिमेकी मुलुक चीन, दक्षिण एसियाको भारत र पाकिस्तानले आणविक भट्टीबाट विधुत उत्पादन गर्न थालिसकेका छन । बङ्गलादेशले पनि त्यसतर्फ अग्रसर भैरहेको सन्र्दभमा नेपालले पनि अब आणविक भट्टीद्वारा विधुतीय उर्जा उत्पादन गर्ने योजना बनाउनु पर्दछ । आणविक भट्टी लगायत सबैखाले विज्ञान र प्रविधिलाई मानवमात्रको गाँसबास, सामाजिक हित र प्रगतिको लागि सदुपयोग हुन आवश्यक छ ।

खानी तथा भूगर्भ विभागको प्रारम्भिक तथ्यांकलाई आधार मान्ने हो भने मकवानपुर धियालको तीनभंगालेमा युरेनियमको जति भण्डार भनिएको छ, त्यो आफैँमा खानी उत्खनन गर्न योग्य छ । गत डिसेम्बरमा नेपालबाट आईएईएको कार्यक्रममा सहभागी हुन अस्ट्रियाको भियना गएका नेपाली प्रतिनिधिमण्डलसँग त्यहाँका युरेनियम विज्ञले सामान्यतया २७ टनजति युरेनियम भएमा त्यो आर्थिक रूपमा घाटाको नहुने बताएका थिए, जबकि तीनभंगालेमा ३५ टन युरेनियम भएको विभागको रिपोर्टमा उल्लेख छ । तर विभागले सुदूरपश्चिम क्षेत्रमा भएको अनुसन्धानबारे केही बताएको छैन । सीपीएसको तथ्यांकलाई आधार मान्ने हो भने तीनभंगालेभन्दा बैतडीतिर बढी युरोनियम खानी हुन सक्छ । किनभने, त्यहाँ तीनभंगालेको भन्दा दुईदेखि तीन गुणा बढी विकिरण मापन गरिएको छ । खानी विभागले गामा–रे स्पेक्ट्रोस्कोपी मिटरको सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स.ं २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन हुन सक्ने ४२००० मेगावाटमध्ये केवल ७ सय मेगावाटजति उत्पादन गर्न सकिएको छ । नेपालको आर्थिक रुपले सम्भाव्य क्षमता भनिएको ४२००० मेगावाट हालको जनसङ्ख्या साढे दुई करोडले हिसाब गर्दा सबै क्षमताका जलबिद्युत आयोजना बनाउंदा पनि प्रतिव्यक्ति ७००० युनिट पर्दछ । समृद्धशाली पाश्चात्य मूलुकमा प्रतिव्यक्ति बिजुली खपत २०००० युनिट भन्दा बढी हुन्छ । तर हाम्रो आफ्नो सम्पूर्ण क्षमता उपयोग गर्दा पनि पुग्दैन । आगामी २५ वर्षसम्म नेपालको जनसंख्या ४ करोड अनुमान गरिएको हुनाले त्यस समय सम्ममा ४२००० मेगावाट बिजुली उत्पादन भएमा पनि प्रतिव्यक्ति बिजुली खपत ४६०० युनिट मात्र हुन आउंछ । १०००० युनिट प्रतिव्यक्ति पुयाउंन हामीलाई ८४ हजार मेगावाट २५ वर्ष्भित्र बनाउनुपर्दछ । नेपालका ६० प्रतिशत उपभोक्ता सधै अध्यारोमा बस्छन अनि मागअनुसारको विद्युत आपूर्ति हुनै नसकेको अवस्थामा छ । मल्थसको जनसख्याको सिद्घान्त अनुसार प्रत्येक २५ बर्षमा जनसख्या दोब्बर हुन्छ । तर हाम्रो देशमा भएको जलस्रोतको क्षमता ८३००० मेगावाट भने स्थिर हुन्छ । यो क्षमताले भविश्यको बिधुत मागलाई धान्न सक्दैन । अबको ५०÷१०० बर्षपछि हाम्रा सन्ततीले हामीले भोग्नुपरेको जस्तो लोडशेडीङ्गको दुःख भोग्नु नपरोस भन्ने कामना मात्र नगरी हामीले आणविक उर्जातर्फ दिर्धकालीन सोचका साथ लाग्नुपर्दछ ।

एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति ३००००० ( तीन लाख ) टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट ८ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । ट्रेड टेकका अनुसार एक पाउण्ड एल्लो केकको मुल्य ३५ अमेरिकी डलर पर्दछ । आणविक हतियार र चिकित्सा विज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम १ ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ । नेपाली विकिपीडियामा भएको युरेनियम नामक लेखका अनुसार १० ग्राम शुद्ध युरेनियम–२३५ को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करबि २० करोड रुपियाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि २० अर्ब रुपियाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । फ्रान्सले त ७५ प्रतिशत विद्युत् उत्पादन आणविक भट्टीबाटै गरेको छ । विश्वभर ४०० जति यस्ता आणविक भट्टी सञ्चालनमा छन् । आणविक भट्टी विरुद्धमा व्यापक आवाज उठाइरहेको अमेरिकामा मात्रै १०० सयजति यस्ता भट्टी छन् । आणविक भट्टीमा नाभिकीय क्रिया मार्फत उर्जा उत्पादन गर्ने गरिन्छ । आणविक भट्टीमा उर्जा उत्पादन गरेर बिजुली उत्पादन गर्न सकिन्छ । बिकसित देशमा १००० मेगावाट क्षमता भएको आणविक भट्टीले १० लाख मान्छे बस्ने एक आधुनिक शहरलाई पर्याप्त बिजुली प्रदान गर्न सक्छ । संसारकोे १२ % बिजुली यूरेनियम प्रयोेग भएको आणविक भट्टीबाट उत्पादन हुन्छ । अहिले पनि लोडशेडिङको समस्या भोग्नु परिरहेको बेला देशमा सरकारले ऊर्जा विकास रणनीति ल्याएको छ । हालसालै २० वर्षको ऊर्जा विकास कार्ययोजना पनि बनेको छ । अन्तराष्ट्रिय उर्जा एजेन्सीको अनुमानअनुसार बिश्वको उर्जा आवश्यकता सन् २०३० सम्म ६० प्रतिशतले बृद्धि हुनेछ । यो उर्जाको माग बिकासोन्मुख मुलुकबाट हुनेछ । बिश्वको कुल उर्जा उत्पादनको १९ प्रतिशत मात्रै जलबिद्युत छ । सानो १ मेगावाटको बिजुली उत्पादन गर्न समेत लगभग १५ करोड रुपैंया चाहिन्छ । यसको तुलनामा आणविक उर्जा धेरै सस्तो हुन जान्छ ।

हाम्रा बैज्ञानिक, जलस्रोतबिदहरु नेपालमा प्रशस्त पानी छ; किन चाहियो आणविक भट्टी भन्ने गर्दछन । के भावी सन्ततिको लागि नसोच्ने ? भविष्यलाई नसोची बतमानलाई मात्र सोच्ने ? नेपालको बिकास नहुनुमा दुरदर्र्शी सोचको कमीले पनि हो । बिगतमा मानिसले चन्द्रमामा पुगेको कल्पना नगरेको भए शायद मनिस चन्द्रमा पुग्ने पनि थिएन होला । पानी–पानी मात्र होइन अब खानीमा पनि लगानी गर्नुपर्छ । जलस्रोत मात्र होइन खनिज स्रोतको अधिक दोहनका लागि सार्वजनिक–निजी साझेदारीमा खानी उत्खनन गर्नुपर्छ । नदीनालामा बगेको पानीमात्र होइन माटोमुनि गडेका खनिज पदार्थको व्यावसायिक एवम् व्यवस्थित उत्खनन र बजारीकरण गर्न सके मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने तथ्य राज्यकोषमा दाखिला भएको राजस्वले पुष्टि गरेको छ । आफ्नै देशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग नै देशको दिगो विकासका लागि आवश्यक हुन्छ । महँगो धातु युरेनियम निर्यात गर्न सके अर्थतन्त्रमा ठूलो फड्को मार्न सकिने उनीहरू बताउँछन् । अस्ट्रेलियामा विश्वको सबैभन्दा ठूलो युरेनियम भण्डार छ । युरेनियम उत्पादनमा भने यो देश तेस्रो स्थानमा पर्छ । अस्टे्रलियाले आफूले उत्पादन गरेको सबै युरेनियम निर्यात गर्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युतमा निर्भर छन् । केही समय अघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवतः विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । यसरी हाम्रो देशमा भएको युरेनियमलाई खोज अनुसन्धान गरेर प्रशोधन गरी एल्लो केकलाई बिदेशमा निर्यात गर्न सकिन्छ । यसबाट अरबौ डलर पैसा कमाउन सकिन्छ । युरेनियमलाई प्रयोग गरी बिजुली निकालेर बिदेशमा बेच्न सकिन्छ । देश बिज्ञान प्रबिधिको क्षेत्रमा लम्कन्छ । तर यसको उपयोग गर्दा अतयन्तै होसियार हुनुपर्छ । आणविक भट्टी बनाएर एटम बम, हाइडोजन बम बनाउने भनेको होईन यसबाट बिजुली निकालौ । अत्यन्तै थोरै पिण्डबाट असाध्यै धेरै कल्पना गर्न नसकिने बिधुत शक्ती निकाल्न सकिन्छ । जसबाट हाम्रो देशम लोड्शेडिण्ग सदाको लागि हट्नेछ ।

Nuclear  Power Plant
चित्र : आणविक भट्टीबाट बिजुली उत्पादन

कौडीमै पनि मिल्कन्छ भिल्लका देशमा मणि

नेपाल जलस्रोतमा दोस्रो धनी देश होस् नहोस तर लोडसेडिङमा पहिलो धनी देश भने पक्का हो । जलस्रोतको धनी देश नेपालमा १८ घण्टा लोडसेडिंग हुन्थ्र्याे बिगतमा । तर खोलामा पानी बगी राखेको छ । नेपाल जलस्रोतको समुचित उपयोगले मात्र पनि मुलुक धनी बन्नसक्छ । प्राकृतिक स्रोतमा नेपाल निकै‘ धनी देश भनेर भनिन्छ । महाभारतको चुरे पर्वतमा युरेनियमको खानी, काठमाडौँमा ग्याँसको भण्डार, रोल्पामा सुन पत्ता लाग्यो जस्ता खबर पटक–पटक आइरहन्छन् । तर, नेपालमा के–कति खनिज छ–छैन भनेर वा संभावित खानी, खनिज, इन्धनबारे अनुसन्धान गर्नका लागि नेपाल सरकारले खानी विभागलाई तलब बाहेक वर्षको थोरै बजेट दिन्छ । त्यो रकमले निश्चित क्षेत्रमा ७–८ सय किलोमिटरको नक्शाङ्कन गर्न पनि पर्याप्त हुँदैन । प्राकृतिक स्रोतको उत्खनन, विकास र उपयोग गरेर नेपाली नागरिकको जीवनस्तर उकास्न सकिन्छ कि सकिँदैन भन्ने अहिलेसम्म अज्ञात् छ । वास्तवमा अहिलेसम्म नेपालभरिमा खनिज पदार्थहरु के–के छन् र कति परिमाणमा छन् भन्ने विषयमा पूर्ण रुपले अध्ययन–अनुसन्धानै भएको छैन । नेपालमा के छैन ? उत्तर आउँछ सबथोक छ तर उपयोग हुन सकेको छैन । तेल, ग्यासको खानी, बहूमूल्य पत्थरको भण्डार, जलस्रोत, वनजंगल, जडिबुटी, कृषियोग्य भूमि सब छ तर नेपाल गरीब छ ।

नेपालको पूर्व रामेछापको ठोसेमा फलाम खानी छ । करिब २ सय वर्ष अगाडिदेखि त्यहाँको फलाम प्रयोग गरिँदै आयो । खासगरी राणा शासन कालमा घरेलु हतियार बनाउन ठोसेको फलाम प्रयोग गरियो । जब नेपालको बजार आधुनिक भयो, यहीँको ठोसेमा उत्पादन गरिएकोभन्दा बाहिर (विदेश) को फलाम सस्तो पर्ने भन्दै त्यहाँको फलाम खानी पूर्णतः बन्द गरियो । नेपालका खानीहरुबाट माइनिङ गरेर खनिज पदार्थ निकाल्दा र उद्योग खोल्दा जति पैसा लगानी हुन्छ, त्योभन्दा बाहिरबाट ल्याउँदा सस्तो पर्छ भन्दै हाम्रा उद्योगमन्त्रीहरुले त्यसलाई बन्द गरिदिए । नेपालको फलाम भण्डार सानो छ, त्यसकारण उत्पादन लागत बढी हुन्छ भन्दै विदेशी फलाम नेपालमा ल्याएर हाम्रा नेताहरुले बेचे । तर, यथार्थ के हो भने अहिलेको परिस्थितिमा विदेशबाट ल्याएको फलामभन्दा यहीँ कम लागतमा उत्पादन गरी सस्तोमा प्राप्त गर्न सकिन्छ । नेपाल सरकारले त्यसमा लगानी गर्न किन सकिरहेको छैन । हाम्रा नेताहरु किन राणाहरुभन्दा पनि बढी स्वार्थी भए । नेपालको खानी विभागले हालसालै ठोसेमा एउटा कम्पनीले काम गरिरहेको र एक वर्षभित्र उत्पादन गर्ने प्रक्रियामा रहेको बताएको छ तर, त्यसको प्रगतिबारे आम नेपाली नागरिक अनभिज्ञ छन् । ठोसेकै फलामलाई प्रशोधन गर्न सक्ने हो र नेपालमा खुलिरहेका आइरन र स्टिल कारखानाहरुसँग समन्वय गरी उनीहरुलाई आपूर्ति गर्ने हो भने नेपालको फलाम अहिले बजारमा पाइने भारतीय फलामभन्दा सस्तो हुन्छ । विदेशीले अनुदानमा दिएको चामल खाएर नेपालीले पेट भरिरहेका छन् । भएका सम्पदाको सदुपयोग हुन नसक्दा नेपाल गरीबको गरीब नै रहनुपरेको छ । नेपालसंगै प्रजातान्त्रिक अभियानमा लागेका नेपालले विगतमा सहयोग गर्ने गरेका मुलुकहरू आज विश्वका सम्पन्न राष्ट्र बन्न सफल भए तर नेपालले भएको सम्पदाको समेत उपयोग गर्न नसकी खुम्चिनुपरेको छ ।

जलस्रोतको धनी मुलुक नेपालमा बर्तमानमा इन्धनका लागि जलविद्युत नै पर्याप्त हुने भए पनि युरोनियम उत्खनन् गर्न सके यसबाट खर्बौं डलर आर्जन गर्न सकिन्छ । हुन त नेपाल आफैँमा युरेनियम प्रशोधन गरी आणविक ऊर्जा केन्द्र स्थापना गर्ने हैसियत छैन । त्यसका लागि ठूलो परमिाणमा बजेट आवश्यक पर्छ, जुन राज्यले धान्न सक्दैन,त्यसमाथि अहिलेसम्म पनि नेपाल अन्वेषणको तहमै सीमित छ भनी निराश भई चुप लागेर बस्ने हो भने अझ सयौ बर्ष पर्खनुपर्छ । पहिलो त हामीसँग यत्ति नै मात्रामा युरेनियम छ भन्ने जानकारी छैन, त्यो भए पनि आफ्नै पहलमा खानी उत्खनन गर्न हामी सक्दैनौँ । नदी र खोलानालाको पानी त्यत्तिकै खेर गइरहेको अवस्थामा हाम्रो प्राथमिकता न्युक्लियर प्लान्टतिर पनि लगाउन आवश्यक छ । नेपाल आफैँले युरेनियमको उत्खनन गर्न पनि नसक्ने र यहाँको गोप्य जानकारी बिदेसिने क्रम पनि नरोक्ने हो भने मुलुक कुनै पनि बेला अन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदान बन्न सक्छ । युरेनियमबारे सरकारले ठोस नीति नलिएमा मुलुकको सार्वभौमसत्तामाथि खतरा हुने सम्भावना पनि उत्तिकै रहन्छ । नेपालले जलबिद्युत उत्पादन थालेको एक शताब्दी पूरा गरेको छ । नेपालले सन् १९११ मा पाँच सय किलोवाट फर्पिङ आयोजनाबाट जलबिद्युत उत्पादन शुरु गरेको थियो भने छिमेकी मुलुक चीनले सन् १९१२ मा पाँच सय किलोवाट क्षमताको शिलोङ्ग युनान आयोजनाबाट जलबिद्युत उत्पादन थालेको थियो । चीन अहिले संसारकै सबै भन्दा ठूलो १८ हजार दुई सय मेगावाट क्षमताको थ्रि गर्जेज जलबिद्युत परियोजना आफ्नै लगानीमा निर्माण गर्नसक्ने भै सकेको छ ।

नेपालको युरेनियम : विदेशी चासो

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए । रेडियोधर्र्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । उपल्लो मुस्ताङ अर्थात नयाँ मुलुक भनेर चिनिने क्षेत्रको माटो प्रतिकिलो हजार रुपैयाँको भाउले बिक्री हुनसक्ने जानकारी श्रेष्ठले एक वैज्ञानिकको हवाला दिएर खुलासा गरेका थिए । मुस्ताङको माटो किलोको हजार रुपियाँ यस्तो चर्चाले राजधानी र देशभरी आश्चर्य थपिदिएको थियो । उनका अनुसार ती बैज्ञानिकको अनुसन्धानपछि उपल्लो मुस्ताङ क्षेत्रमा युरेनियमको खानी रहेको पत्ता लागेकोले त्यहाँको माटो पनि अमूल्य रहेको उनको दावी छ । ती बैज्ञानिक को हुन? कसले उनलाई युरेनियमको अनुसन्धान गर्ने अनुमति दियो ? जस्ता कुनै पनि रहस्य उनले खुलाएका छैनन् । उनले यति भनेका छन् कि आफू पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीश हुँदा संयुक्त राष्ट्रसंघमा जागिरे भएका भारतीय एक वैज्ञानिकले उपल्लो मुस्ताङको लोमाथाङकामा अत्यधिक मात्रामा युरेनियम भएको उहाँलाई बताएका थिए । ती वैज्ञानिकले पाँच किलो माटो लेमाथाङकाबाट कसैले लगेमा झन्डै ७० हजार भारतीय रुपियाँ बराबरको नेपाललाई नोक्सान पर्ने पनि आफूलाई बताएका थिए । यस सम्बन्धमा सरकारका बिभिन्न निकायमा जानकारी गराउँदा कसैले गम्भीर रुपमा लिएनन् । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान युरेनिफेस रकको नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।

सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भ्विद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भ्विद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुनः सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो । स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन, उनले तीनभंगाले–कालो खोलाको युरेनियम मिश्रित चट्टानका टुक्राबारे गामा–रे स्पेक्ट्रोस्कोपी प्रविधि अनुरुप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यस बाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरुद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ । स्थानीयका अनुसार मकवानपुरको तीनभंगालमा अमेरिकीदेखि भारतीय मूलका नागरिकहरू पटकपटक आइसकेका र आइरहेका छन । जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा रेडियसन फिजिक्सको राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभाव बारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए । त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरु माझ निकै चर्चा भएको थियो । विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्मा चाहिँ डडेलधुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी,बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकार समक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्मा चाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।

अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियम लगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ । खानी विभागका उच्च पदाधिकारी भन्छन, ‘कोरियनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन’। दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करीब ६१ करोड रुपियाँ)को परियोजना दिएको छ । आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहरु नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिम समेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षण समेत गरेको थियो । विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियम सम्बन्धी अध्ययन भनेर आउँदैनन, उनीहरु नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै देशमा लैजान्छन् ।

नेपाल सरकारको भावी बैज्ञानिक कदम

हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ । कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । वैज्ञानिक क्षमताको विकास गर्न सन् १९६० को दशकदेखि नै नेपाली वैज्ञानिक समुदायले राष्ट्रिय विज्ञान नीति निर्माणको आवश्यकता माथि जोड दिदै आएको थियो । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ । हाम्रा नेताहरूले नेपाललाई आगामी दशवर्षभित्र सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने कुरा गर्न थालेका छन् । साँच्चै नै नेपाललाई यी मुलुकहरूको स्तरमा पु¥याउने हो भने ती देशहरूमा विगतमा भएका विकास प्रक्रियालाई बुझ्नुपर्दछ र त्यसबाट पाठ पनि सिक्नुपर्दछ । यसका लागि उनीहरूले जस्तै हामीले पनि आफ्नो वैज्ञानिक दक्षतामा वृद्धि गर्नुपर्दछ । नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्नका लागि वृहत एवं सुसङ्गत राष्ट्रिय रणनीति र रूपरेखा बनाउनु पर्दछ । अन्यथा नेपाललाई सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने नेताहरूको सपना केवल दिवास्वप्न मात्र हुनेछ ।

यदि युरेनियम उत्खनन गरेर निर्यात गर्ने हो भने नेपालमा बिकासको मूल फुट्न सक्छ । नेपालमा प्रशोधनपछि राम्रै मूल्य प्राप्त हुने युरेनियम खानीको सम्भावना देखिएको छ । यसले मुलुकप्रति विश्वकै सुरक्षा चासो बढाउँछ । अरेवियन देशहरु तेल बेचेर शक्ति सम्पन्न बनेका छन् । नेपाल पानीको धनी थियो, त्यसको एकाधिकार गुमाएको अवस्था छ । अब युरेनियमको चर्चा आएको छ । युरेनियम महाभारत श्रृंखलामा पनि प्रशस्तै मात्रामा भएको खुलासा पहिले भएको हो तर नेपालमा सँधै राजनीतिक अस्थिरताका कारणले नेपाल गरीब र कमजोर बन्दै गएको छ । स्मरणीय छ, ३० वर्ष अघि खानी विभागबाट अनुमति लिएर भारतको टाटा कम्पनी समेतले रोल्पा क्षेत्रमा तामाखानीको उत्खनन भएको थियो । तामा प्रशस्त भेटिए पनि निकाल्न मुस्किल परेपछि उक्त कार्य रोकिएको थियो । ती उत्खननकर्ता अहिले पनि कलकत्तामा जिवितै छन् । रिपोर्ट खानी विभागमा रहेको छ । रोल्पा क्षेत्रमा तामाखानीका खाल्टाहरु अझै पनि त्यत्तिकै रहेका छन् । कतै त्यही उत्खननबाट युरेनियम पत्ता लागेको त होइन । विगतमा पनि नेपालमा फलाम, तामा, नुन लगायतका खानीहरू भेटेर हाम्रा पूर्वजहरूले त्यसको प्रयोग नगरेका होइनन् तर खानीको अध्ययन, अन्वेषण गर्न ठूलो लगानी लाग्ने हुनाले खानी विकासतर्फ सरकारले ध्यान दिन सकेको छैन । न त निजी क्षेत्रले नै लगानी गर्न सकेको छ । बेलाबेला पूर्व–पश्चिमतर्फ पेट्रोलियम पदार्थ भेटिएको चर्चा हुन्छ तर त्यो चर्चा यत्तिकै सेलाउने गरेको छ । विदेशीले पनि यसको अध्ययनमा रुचि देखाएको समाचार आउँछ तर पानीको फोका जसरी हराउने गरेको छ । कम्तीमा लोमन्थाङमा भेटिएको युरेनियम खानीको विस्तृत अध्ययन गरी यसको दोहनतर्फ सरकारले ध्यान दिनुपर्ने खाँचो छ । विस्तृत अध्ययनपछि मात्र युरेनियम कति गुणस्तरको छ, कति परिणाममा निकाल्न सकिन्छ भन्ने थाहा हुन्छ ।

राज्यले चाहे जे पनि हुन्छ काम गर्ने इच्छाशक्ति हुनुपर्छ । हामी टाढा जानु पर्दैन, नजिकको देश भुटान हिजोसम्म कहाँ थियो ? उसले छोटो समयमा हाइड्रो पावरको बिकासले कति धेरै परिवर्तन गरिसक्यो । हामी भने अध्यारोमा छामछुम गरेर बसेका छौं । हामीभन्दा पछाडी बिजुली बाल्ने जापान कहाँ पुगिसक्यो ? हामी आधा दिन सधै बिजुलीबिना बस्नु परेको छ । केही दशक अघिसम्म विकासोन्मुख मुलुकको दर्जामा रहेका एसियाका कैयौं मुलुकहरू हाल विकसित मुलुकका सदस्य बनिसकेका छन् । दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र ताइवानजस्ता देशहरूले आफूलाई विकासोन्मुख देशको सूचीबाट विकसित देशको खुट्किलोमा पुयाई सकेका छन् भने हाम्रा निकट छिमेकी भारत र चीन अठोटका साथ प्रगतिका पथमा द्रूत गतिले लम्किरहेका छन् । यी दुवै राष्ट्र सन् २०२५ सम्ममा विश्वकै शक्तिशाली आर्थिक केन्द्रका रूपमा स्थापित हुने अनुमान अर्थशास्त्रीहरू गर्दछन् । यी देशहरूले प्राप्त गरेको आर्थिक उन्नतिका कारणहरू मध्ये एक प्रमुख कारण यिनीहरूले समयमा नै राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधिको महत्वलाई स्पष्ट बुझ्नु र आत्मसात् गर्नु हो । विगतका केही दशकमा यी मुलुकहरूले विज्ञान तथा प्रविधिका उच्चस्तरीय संरचनाहरूमा गरेको विकास अनुकरणीय छ । विकसित मुलुकहरूमा वैज्ञानिक क्षमताको विकास एकदिनमा भएको होइन । विज्ञान तथा प्रविधिका विकासका लागि दशकौंसम्म ती मुलुकका राजनीतिक नेतृत्वले लिएको दृढ अठोटका कारण यो सम्भव भएको हो । आधुनिक नेपालको निर्माण भएपछि लगभग दुईसय वर्षसम्म पनि नेपालमा विज्ञान तथा प्रविधिको विकासबाट विश्वमा औद्योगिक क्रान्तिबाट भएको सामाजिक रुपान्तरण नेपालमा नदेखिए पनि वि.सं २००७ को ऐतिहासिक राजनीतिक परिवर्तनपछि आधुनिक विज्ञान तथा प्रविधिको विकासमा पाइला चाल्न शुरुवात ग¥र्यो । विश्वका उदाउँदा छिमेकी देशहरू भारत र चीन दुवै अन्तरिक्ष युगमा प्रवेश गरी सकेकोले गर्दा नेपालमा पनि विज्ञान प्रविधिको विकास गर्न इच्छाशक्ति भएको राजनेता, राजनीतिक प्रतिवद्धता र राष्ट्रिय विज्ञान नीति तत्कालै बनाई पाइला चाली हाल्नु पर्दछ । ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन् । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु पर्दछ ।

(Visited 253 times, 1 visits today)

Gopal Bhandari

Editor-in-Chief, Writer/Author, Researcher
Posted in Science. Tagged with .
error: Content is protected !!